केही गर्हुंगा लगेजहरु

                                                                                          

उ झसंगजस्ती भई। प्याकिंग गर्न टक्कै रोकी, खाटमा चढी र सोचमग्न भई, टाउको झननजस्तो भयो, मानौं केही बजारिएको थियो टाउकोमा।

आखिर भएको खास केही हैन। एउटा फोन आएको मात्र हो, ट्रावल एजेन्टलको। चार वर्ष सिड्नी बसाईका क्रममा थुप्रिएका सामान बेस्सरी छाँटेकी हो उसले गएका दुई हप्तादेखि  तर पनि सोचेभन्दा निकै थोरैमात्र लैजान पाइने देखिएको मात्र हो।

“अब यी सामान के गर्नु?” सोच्दा पनि चिटचिट पसिना छुटे झैं भयो उसलाई। मनमनै भनी “यी त मेरा अभिन्न कुरा हुन्, मैले सधैं राख्ने कुरा हुन्। कसरी घटाउन सक्छु अरु?”

चारवर्ष देखिको उसको संसार घटाएर उसले जम्मा तीनवटा सुटकेसमा नझारेकी होइन। कुनै आफ्ना साथीलाई दिएर, केही दान दिएर, र बाँकी रद्दीमा फालेर। यी बाँकी रहेका सामान असाध्यै प्रिय, कुनै न कुनै भावनात्मक रुपले जोडिएका, वा अटुट बोक्नैपर्ने उपहारहरु भएकाले कोचेकी हो। अझ एजेन्ट भन्छ यो पनि बढी भयो। के गर्नु अब? चौंथो लगेज निकै महंगो पर्ने रहेछ तर पनि पैसा नै तिरेर लैजाने होला त? उ रनभुल्ल पर्दै हेरी, बेढंगले खुलेको सुटकेस र भित्रका सामानहरु। 

सबभन्दा पहिले उसको आँखा गए त्यो Versace ब्यागमा। गर्हुङ्गो र सुटकेसमा निकै ठाउँ लिएको त्यो ब्याग एक वर्ष अघि नमिता अंटी अस्ट्रेलिया घुम्न आउँदा सिड्नी वेस्टफिल्ड मलमा किनेर दिएकी थिइन्। उसलाई सम्झना छ धनी खलककी नमिता अंटीको पुरानै आदत हो, उनी उपहारहरु प्रेमले भन्दा पनि अन्य नियतले दिने गर्थिन्।

नमिता अंटीको त्यो शैली अझै बदलिएको रहेनछ।


उसलाई अझै याद छ यो Versace ब्याग किनेर दिएको दिनमा पनि अपार्टमेन्टमा त्यत्रा मान्छेको अघि “ल यो भर्सेसको हो, निकै महँगो हुन्छ” भन्दै दिएकी हुन्। यसो भन्दा उनले स्वरलाई यसरी अस्वभाविक रुपले उचो बनाएकी थिइन् कि त्यहाँ बस्ने हरकोहीले यो खबर राखोस्। उसलाई मुख फोरेर भन्न मन नलागेको होइन “म बजारशास्त्रमा पीएचडी गर्दै छु यहाँ, कुन ब्रान्ड के हो जान्दछु, अनि यसलाई “भर्सेस” होइन “वर्सा’चे” भन्न सिक्नुस् ”। तर उसले भनिन केही।

ब्याग भने राम्रो हो है। उ अझै सम्झिन्छे एकदिन हाई हिल लगाएर त्यो ब्याग बोकेर साथीहरुसँग सिड्नी सिबिडी जाँदा सबले “सेक्सी मामा, हट मामा” भनेर जिस्क्याएका थिए, त्यो दिनको पहिरन र त्यो ब्याग निकै समय चर्चामा रहेको थियो उसका साथीहरु माझ। 

सुटकेसको त्यत्रो ठाउँ लिएर बसेको त्यो ब्यागमा वर्सा’चेको लोगो भन्दा पनि बढी नमिता अंटीको अनुहार देखी उसले।

त्यो ब्यागसँगै थियो विन्दुले दिएको ड्रेस। नसुहाएको हैन त्यो। असाध्यै सुहाएको हो। कोफ्स हार्बर घुम्न जाँदा केरा खेती भएको पहाडको फन्को मार्दै माथि डाँडाको टुप्पामा रहेको फरेस्ट स्काई भ्यु पोइन्टमा जाँदा उसले लगाएकी थिई त्यो ड्रेस। बेस्सरी हावा चल्ने त्यो ठाउँमा फिल्फिल बग्ने सार्है नरम सिल्की लुगा उढेर कस्सो लाजै मर्दो नभएको। हतपत उड्नबाट नसमाएको भए म्यारिलिन मनरोको अवस्था झैँ हुन्थ्यो, साथीहरु मरीमरी हाँसेका थिए। ठ्याक्कै त्यही बेला कसैले फोटो खिचिदिएछ। त्यो इन्स्टाग्राममा राख्दा एक लाखभन्दा बढी लाइक आएथ्यो। आजसम्मको रेकर्ड नै त्यहि होला उसको इन्स्टामा।

तर उसलाई थाहा छ विन्दुले यो महंगो ड्रेस दिएर एक प्रकारले मित्रताको फेरी खरिद गर्न खोजेकी हो। वर्षौंदेखि  यतै सेट्टल भएकी छ उ| उसले नेपालबाट अस्ट्रेलिया आउनु अघि चिन्तित हुँदै फोन गर्दा सधैं "म छँदै छु नि" भनेर त्यत्रो ढाडस दिएकी पनि हैन। तर त्यस्ती मान्छे शुरुवाती अप्ठेरोमा एक दिन, एक पटक, कुनै अप्ठेरोमा सहयोग गरिन। शुरुमा ससाना कुरा पनि ठुला हुन्छन् तर विन्दु र उसका श्रीमान आफु खडा हुनु पर्ने हर अवसरमा बिल्कुल गयल रहे। र विन्दुलाई यो गल्तिको राम्रो हेक्का पनि छ र त नडुबोस् भनेर मित्रताको डुंगामा पर्दै गएको प्वाल टाल्न खोज्दैछे त्यो ड्रेसले।  

त्यत्रा सामान कटाउँदा पनि छुटाउनै नहुने भनेर गनिएका यी सामानहरु एकाएक अर्थहीन लागे। मनमा प्रश्नको ज्वार उठ्यो एक्कासी “मैले उहिल्यै फालेको भए के हुन्थ्यो?” 

त्यही मेसोमा नेपालबाट बुहारी दीपाले पठाएको त्यो मोटो ज्याकेटले धेरै ठाउँ लिएको पनि उसले देखी। त्यो ज्याकेट हेर्दा प्यारी दीपाको मायालाग्दो मुहार उसको दिलमा नखुलेको होइन तर उसको दृढ मनले भन्यो “जो मलाई दिलैदेखि माया गर्छन, तिनीहरुसँगको सम्बन्ध यी निर्जीव सामानका क्षितिजभन्दा धेरै पर छन”

एकाएक मनोभाव कस्तो कठोर भयो। यन्त्रवत चले हातहरु र भटाभट फाल्न थाली सामानहरु। सामानभन्दा बढी त उसले ति सामान सँगसँगै कैयौं फोस्रा सम्बन्धका स्मृतिहरु फाली, दिलका कुना कुनामा वर्षौंदेखि अड्डा जमाएर बसेका, जो बिना लाग्थ्यो जीवनयात्रै चल्दैन।

यो कस्तो अनौठो भाव! सिमलको भुवाजस्तै हल्का भई ऊ र मुसुक्क मुस्कुराई। उसले देखी अब लगेज त जम्मा एउटा मात्रै पो। “कस्तो हलुङ्गो हुने भो अबका यात्रा।”



यश. राज

मार्च, २०२३

Comments